काठमाडौं । सप्तकोसी नदीमा जेटबोट दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने चार जना अझै बेपत्ता छन् । दुर्घटनामा परेका नौ जनाको भने सकुशल उद्धार गरिएको छ । भोजपुरको भतुवागढीस्थित खोप्चे क्षेत्रबाट सुनसरीको बराहक्षेत्रतर्फ जाँदै गरेको जेटबोट आइतबार दिउँसो दुर्घटनामा परेको हो ।
धनकुटाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार दुर्घटनामा मृत्यु भएका तीन जनाको शव सुनसरीको चतारा अस्पतालमा राखिएको छ । बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको उनले जानकारी दिइन् ।
दुर्घटनाको खबर प्राप्त भएपछि सुरुमा धनकुटाको त्रिवेणी प्रहरी चौकीबाट प्रहरी टोली उद्धारमा खटिएको थियो । उक्त चौकीबाट जानकारी प्राप्त भएपछि सुनसरीस्थित विपद् व्यवस्थापन गुल्मबाट समेत टोली परिचालन गरिएको थियो । उदयपुरबाट पनि प्रहरी टोली उद्धार कार्यमा खटिएको छ ।
घटनास्थलमा मोबाइल फोनमार्फत सम्पर्क स्थापित गर्न कठिनाइ भएकाले उद्धार तथा खोजी कार्यको नियमित विवरण प्राप्त गर्न समस्या भएको उदयपुरका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए ।
हाल घटनास्थलमा सशस्त्र प्रहरीले उद्धार तथा बेपत्ताको खोजी कार्यको नेतृत्व गरिरहेको छ । दुर्घटनामा बेपत्ता भएका चार जनाको खोजीका लागि सुरक्षाकर्मीहरू परिचालित छन् । दुर्घटनाको कारण तथा घटनासम्बन्धी थप विवरण आउन बाँकी छ ।




