काठमाडाैं । नेपाल टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीको जोडीले जितेका छन् ।
पोखरामा शनिबार साँझ भएको ग्रान्ड फिनालेमा बालचन्द्र बराल र शोभा कार्कीको जोडीलाई पछि पार्दै पराजुली र बुढाथाेकीले उपाधि उचालेका हुन् । भोटको आधारमा पछि पार्दै प्रकाश र मीनाको जोडीले उपाधि हात पारेको हो ।
पोखरास्थित बाराहीघाटमा हजारौं दर्शकबीच भएको कार्यक्रममा विजेताले नगद २० लाख रुपैयाँ पाए । यसका साथै, १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छन् । दोस्रो भएका कार्की र बरालको जोडीले नगद १० लाख रुपैयाँ तथा ५० लाख रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाए । सविन आचार्य र रीता रावतको समूहले तृतीय स्थान हाँसिल गरेको छ।
राजेन्द्र पाठक र मीना नेपालको समूहलाई भोटका आधारमा पछि पार्दै सविन र रीताको समूह तेस्रो भएको हो । राजेन्द्र र मीनाको समूह सान्त्वना भएको छ । तृतीय र सान्त्वना समूहले क्रमशस् तीन लाख र दुई लाख रुपैयाँ प्राप्त गरेका छन् ।
विजेता, उपविजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार प्रदान गरेका थिए । फिनालेमा छिटटै ‘दोहोरी च्याम्पियन’ सिजन २ सुरु हुने समेत घोषणा गरिएको छ ।
‘दोहोरी च्याम्पियन’को निर्णायकमा गायक प्रजापति पराजुली, गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा थिए ।




