एजेन्सी । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पत्रकार सम्मेलन गर्दै पदबाट राजीनामा दिन तयार रहेको घोषणा गरेका छन् । उनले देशमा शान्ति स्थापना र युक्रेनलाई नेटो सदस्य बनाउने शर्त पूरा भए तुरुन्तै राष्ट्रपति पद त्याग्न आफू तयार रहेको स्पष्ट पारेका हुन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, ‘यदि यसले देशमा शान्ति ल्याउँछ र युक्रेन नेटोको सदस्य बन्न सक्छ भने म तुरुन्तै पद छोड्न तयार छु ।’
रूस-अमेरिका सम्बन्ध र ट्रम्पसँग भेट्ने चाहना
रूस र अमेरिका बीचको सम्बन्ध नजिकिएसँगै उत्पन्न तनावबीच जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्ने इच्छा पनि व्यक्त गरेका छन् । उनले ट्रम्पलाई तानाशाहको संज्ञा दिँदै भने, ‘यदि कुनै तानाशाह थियो भने, त्यो उहाँ (ट्रम्प) पनि हुन् । उहाँ तानाशाह शब्दबाट चिढिनुहुन्छ, तर म कानुनी रूपमा निर्वाचित राष्ट्रपति हुँ ।’
ट्रम्प–पुटिन भेटअघि युक्रेनसँग छलफल आवश्यक
जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्नु अघि युक्रेनको प्राकृतिक स्रोतहरूमा पहुँच प्रदान गर्ने सम्भावित सम्झौता बारे छलफल गर्नुपर्ने माग गरेका छन् । उनले भने, ‘युक्रेनको सुरक्षा चिन्तामा सहमति जुटाउन हामीबीच प्रत्यक्ष वार्ता आवश्यक छ । ट्रम्प र पुटिनको बैठक हुनुअघि नै यो छलफल हुनुपर्छ ।’
अमेरिकाबाट सुरक्षा ग्यारेन्टीको अपेक्षा
जेलेन्स्कीले युक्रेनलाई रुसी आक्रमणबाट जोगाउन अमेरिका र ट्रम्पबाट ठोस सुरक्षा आश्वासन आवश्यक रहेको बताए । उनले भने, ‘म ट्रम्पसँग प्रत्यक्ष भेटेर धेरै कुरा बुझ्न चाहन्छु । हामीलाई अमेरिकाबाट सुरक्षा ग्यारेन्टी अत्यन्त जरुरी छ ।’ जेलेन्स्कीको यो अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले युक्रेनको राजनीतिक भविष्य र सुरक्षा परिस्थितिको गहिरो विश्लेषण गर्न थालेका छन् ।






